१५ माघ, जुम्ला । दशौं राष्ट्रिय खेलकुदको तयारी स्वरुप प्रदेश स्तरीय पुरुष फुटबल प्रतियोगिता जुम्लामा फागुन १५ गतेदेखि सुरु हुने भएको छ । पहिलो पटक जुम्लामा आयोजना हुन लागेको प्रदेश स्तरीय फुटबल प्रतियोगिता फागुन १९ गते सकिनेछ ।
कर्णाली प्रदेश खेलकुद विकास परिषदको आर्थिक सहयोग, प्रदेश फुटबल संघ र जिल्ला खेलकुद विकास समितिको समन्वय र जुम्ला जिल्ला फुटबल संघको आयोजनामा जिल्लामा पहिलोपटक प्रदेश स्तरीय फुटबल हुन लागेको हो । कर्णाली प्रदेशमै हुने दशौं राष्ट्रिय खेलकुदको तयारी स्वरुप यो प्रतियोगिता हुन लागेको जुम्ला जिल्ला फुटबल संघका अध्यक्ष भरत बहादुर बुढ्थापाले बताए ।
वि.सं. २०८१ मा कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगरमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुदको लागी यसै प्रतियोगिता बाट कर्णाली प्रदेशको टिम छनोट हुनेछ । भने, यहि फागुन २४ गतेदेखि ३० गतेसम्म बागमती प्रदेशको आयोजनामा हुन लागेको प्रदेश स्तरीय पुरुष फुटबल प्रतियोगितामा समेत कर्णाली प्रदेशको प्रतिनिधित्व गर्नेछ ।
प्रतियोगितामा प्रदेशका दशै जिल्लाहरुको सहभागी हुने आयोजकले जनाएको छ । जिल्ला फुटबल संघ जुम्लाले आज एक सूचना जारी प्रतियोगिताको मिति घोषणा गरेको महासचिव दिपेन्द्र विक्रम हमाले बताए । जस अनुसार फागुन ११ गते बेलुका ४ बजेसम्म टिम दर्ता गरिसक्नुपर्ने छ । टिम दर्ताको लागी सम्बन्धित जिल्ला खेलकुद विकास समितिको लेटर प्याडमा खेलाडी, प्रशिक्षक र व्यवस्थापकको नामावली सहितको पत्र संघको इमेल footballsangh.jumla2069@gmail.com मा पठाउनु पर्ने महासचिव हमालले बताए ।
प्रतियोगितामा सहभागी टिममा १५ खेलाडी, १ प्रशिक्षक र १ व्यवस्थापक गरि कुल १७ जना हुनुपर्ने छ । यस्तै, प्रतियोगिता सुरु भएदेखी आफ्नो टिमको खेल सकिदा सम्म प्रत्येक टिमका खेलाडीले जनही रु. १०००/- भत्ता पाउने संघक कोषाध्यक्ष अजय बुढ्थापाले बताए ।
त्यसै, जुम्ला जिल्ला फुटबल संघले पहिलोपटक यति ठूलो प्रतियोगिता आफ्नै जिल्ला हुन लागेकोले सबै जिल्लावसिलाई सहयोगको अपिल समेत गरेको छ ।
यसको साथै जुम्लामै यहीँ फागुन १० गतेदेखि १४ गतेसम्म प्रदेश स्तरीय रेफ्री तालिम हुने भएको छ । कर्णाली प्रदेशमै रेफ्री उत्पादन गर्ने हिसाबले रेफ्री तालिम समेत आयोजना गरिएको संघका महासचिव दिपेन्द्र विक्रम हमालले जानकारी दिए ।
तालिमको लागी प्रत्येक जिल्ला बाट तीन जनालाई सम्बन्धित जिल्लाको खेलकुद विकास समिति या फुटबल संघले सिफारिस गरि फागुन ६ गतेसम्म पत्र पठाइसक्नुपर्ने छ ।