२५ जेठ, जुम्ला । जुम्लाको जयरत्न कर्णाली बोर्डिङ स्कुलको दिक्षान्त समारोह सम्पन्न भएको छ । जिल्लामै पहिलोपटक विद्यालयले गरेको दिक्षान्त कार्यक्रम बाट ९० विद्यार्थी दिक्षित भएको विद्यालयका सहायक प्रधानाध्यापक अमर नाथ योगीले बताए ।
अघिल्लो वर्ष युकेजी कक्षा बाट पासआउट भएर कक्षा एकमा गएका ९० जना विद्यालाई दिक्षित गराइएको विद्यालयका प्रधानाध्यापक फुर्बा शेर्पाले बताए । उनका अनुसार जुम्लाका कुनै पनि विद्यालयले गरेको यो पहिलोपटक हो । विद्यार्थीले गरेको मेहेनतको सम्मान स्वरुप यस्तो कार्यक्रम गरिएको उनको भनाइ छ ।
दिक्षान्त कार्यक्रममा बोल्दै चन्दननाथ नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख खडानन्द चौलागाईंले यस्तो कार्यक्रम कर्णाली प्रदेशै नौलो भएको बताए । विगत वर्षदेखि विद्यालयले थुप्रै कार्यक्रम गरेको र यो सम्पुर्ण विद्यालयलाई सिकाइको पाटो भएको बताए । विद्यालयले जिल्लामै नयाँ कार्यक्रम गरेर आफुलाई अब्बल साबित गर्न सफल भएको र शिक्षण क्षेत्रमा मात्र नभएर सामाजिक एवम् अतिरिक्त शिक्षणमा पनि अब्बल काम गरेको भन्दै तारिफ गरे ।
यस्तै, यस कार्यक्रमको प्रमुख अतिथि चन्दननाथ नगरपालिका उपमेयर रामदेवी खड्काले विद्यालयले प्रत्येक पटक नौलो अभ्यास गर्ने गरेको र आजको कार्यक्रममा आफू यसको साक्षी हुन पाएको बताइन् । जुम्लामा राम्रो काम गर्दा खुट्टा तान्ने प्रवृत्ति रहेको भन्दै सबैले यस्ता राम्रो कामलाई सकारात्मक रुपमा लिएर सिको गर्नुपर्नेमा जोड दिइन् ।
विद्यालयले अघिल्लो शैक्षिकसत्र देखि विज्ञान प्रदर्शनी, छात्रछात्राको लागी ५ किलोमीटर दौड प्रतियोगिता, विद्यार्थी द्वारा सञ्चालित शैक्षिक रेडियो कार्यक्रम जस्ता विविध कार्यक्रम गरेको थियो ।