२०८१ साल माघ २४ गते बिहिबार

निजि सहयोगमा डोल्पा पाटनमा यार्सा सङ्कलन गर्न गएका युवाको हेलि मार्फत उद्धार


२ जेठ, जुम्ला । जुम्ला बाट यार्सागुम्बा संकलनका लागी डोल्पा पाटनमा गएका युवाको उद्वार गरिएको छ । पाटनमा अलपत्र भएपछि हेलि मार्फत बुधबार उद्धार गरिएको हो ।


डोल्पाको साल्दाङ फोतगाउँ क्षेत्रमा अलपत्र परेर अस्वस्थ पातारासी गाउँपालिका ३ मोहोरीगाउँका ओमप्रकाश बुढालाई उद्धार गरिएको हो । ओम प्रकाश सहित चार जना युवा अलपत्र परे पनि ओम प्रकाश बुढाको स्वास्थ्य अवस्था नाजुक भएको र एक हप्तादेखि बिरामी परेकोले उनलाई तत्काल हेलि मार्फत उद्धार गरिएको हो ।


अन्य तीन जना युवा जय बुढा, हिरालाल रावत र चन्नलाल रावतको अवस्था सामान्य रहेको बताइएको छ । उद्धारका लागि हेलि मंगलबार नै डोल्पा पाटन गएपनि हावाहुरीका कारण अवतरण हुन सकेको थिएन । पुनः बुधबार बिहान हेलि ताल्चा हुँदै डोल्पाको पाटनमा पुगेर अलपत्र युवाको उद्धार गरि जुम्ला ल्याइएको छ । उद्धारका लागि जिल्ला प्रशासन कार्यालय जुम्ला मार्फत कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय हुँदै केन्द्रमा माग गरेपनि सरकारी संयन्त्रले वास्ता नगरेपछि नीजि सहयोगबाट हेलि व्यवस्थापन गरेर उद्धार गरिएको हो । 


जसमा  राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विनिता कठायतले १ लाख २५ हजार, कर्णाली प्रदेशका सांसद देवेन्द्र बहादुर शाहीले २० हजार र स्थानीय समुदायको ७ लाख सहयोगमा हेलिको रिजर्भ गरि उद्धार गरिएको हो । हेलिबाट उद्धार गरी जुम्ला ल्याईएका ओम प्रकाशलाई श्वासप्रश्वासमा समस्या भएकोले थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।

प्रतिक्रिया