२०८१ साल चैत १० गते सोमबार

कविता : शहीदलाई मेरो अन्तिम चिठि


सत्य र न्यायको पाठ भन्न

स्वाधीनताको मसाल बन्न

प्राणको मोह त्याग्ने गीत नगाउनु

सतिको स्राप छ याहाँ विन्ती शहीद मर्न नआउनु 


झोलाबिहीन बबुराकोकदर छैन यहाँ

बाचाहरूको मुख छ तर अधर छैन यहाँ

देश रुदा मिथ्यावादिहरूले देखेनन्  

ती सपनाले पुनः पाइला कहिल्यै टेकेनन्

धाममा भक्ति गर्नु प्रभूको भो तिमी नधाउनु

सतीको स्राप छ यहाँ विन्ती शहीद मर्न नआउनु


भिमदत्त, मदन, विरेन्द्रलाई छिमेक लगाइ मारे

महाँबीर, बालेन कुलमानहरुलाई अफ्ठ्यारोमा पारे

भक्तहरू बोल्नेछैनन् सिमा गिँडे पनि

उत्तर दक्षिण जतासुकै मूलुक हिँडे पनि

नर्कमा ठाउँअपुग होला यमदूत नलाउनु

सतीको स्राप छ याहाँ विन्ती शहीद मर्न नआउनु


गम्छु तिम्रा आदर्श फेरी भेटिन्छन् की कतैकतै

स्याल, गिद्ध, ब्वाँसा आमा लुटी हिँड्छन जताततै

बुद्धुजीवि जाल बुन्छ अचेल पार्टीको तानमा

औपचारिकता बाँचिरहेछ तिम्रो अभियानमा 

रगतको परिणाम हेर्नबादलमा नछाउनु 

सतीको स्राप छ याहाँ विन्ती शहीद मर्न नआउनु

प्रतिक्रिया