२०८२ साल जेठ ३३ गते अाईतबार

लिग च्याम्पियन योङ्ग स्टार फुटबल एकेडेमी मैत्रीपुर्ण खेल खेल्न भारत जाने


१६ पुष, जुम्ला । जुम्लाको लिग च्याम्पियन योङ्ग स्टार फुटबल एकेडेमी मैत्रीपुर्ण खेल खेल्न भारत जाने भएको छ । भारत केरलाको प्रतिष्ठित फुटबल क्लब अल्टिअस अन्तर्राष्ट्रिय फुटबल एकेडेमी सँग दुई वटा मैत्रीपुर्ण खेल खेल्न भारत जाने भएको एकेडेमीका अध्यक्ष मदन बुढ्थापाले बताए ।


हाल पोखरा फुटबल एकेडेमी सञ्चालन गरिरहेको योङ्ग स्टारले विगत केही वर्षदेखि देशका विभिन्न जिल्लाहरुमा फुटबल र मार्सल आर्टमा एकेडेमी सञ्चालन गरेर खेलकुद गतिविधिहरुमा सक्रिय रुपमा लागिरहेको छ । यसैक्रममा पोखराको शिशु निकेतन स्कुलमा फुटबल एकेडेमी संचालन गरेको योङ्ग स्टारले आफ्नो पहिलो विदेश भ्रमणको रुपमा यहीँ जनवरी १३ तारिखमा भारतको केरला प्रान्तमा प्रस्थान गर्ने अध्यक्ष बुढ्थापाले नासोलाई जानकारी दिए । उनका अनुसार क्लबले जनवरी १९ र २१ तारिखमा त्यहाँको स्थानीय प्रतिष्ठित फुटबल क्लब अल्टिअस अन्तर्राष्ट्रिय फुटबल एकेडेमी सँग दुई वटा मैत्रीपुर्ण खेल खेल्नेछ । 


यस्तै, शिशु निकेतन सेकेण्डरी विद्यालयका प्रधानाध्यापक नरेन थापाले विद्यार्थी खेलाडीहरुलाई अन्तर्राष्ट्रिय एक्सपोजरको लागी यसपटक भारतको केरला लिन लागिएको बताए । यसले खेलाडीहरुको लागी अभ्यासको निकै राम्रो अवसर हुने बताए । उनका अनुसार यस खाले भ्रमणले खेलाडीमा नयाँ ज्ञान, सीप र उर्जा मिल्ने र यसले खेलमा सकारात्मक परिवर्तन गर्ने उनको विश्वास रहेको छ । 


शिक्षा क्षेत्रमा पोखराको मेरुदण्डको रुपमा रहेको शिशु निकतन पछिल्लो समय फुटबल एकेडेमी सञ्चालन पश्चात् खेलकुदमा पनि अब्बल साबित भइरहेको प्रधानाध्यापक थापाको बुझाइ छ । यसले शिक्षा क्षेत्रमा मात्र नभई फुटबल मार्फत देश विकासमा योगदान दिन सकिनेमा उनी विश्वस्त रहेको बताउछन् । पछिल्लो समय सक्रिय फुटबल अभ्यासले विद्यार्थीमा कडा परिश्रम गर्ने बानी, अनुशासन, पढाइमा लगनशीलता, राष्ट्रभक्ती जस्ता सकारात्मक परिवर्तन ल्याएको आफुलाई आभास भएको थापाको बुझाइ छ ।




भारत गएर फुटबल मात्र खेल्ने नभई त्यहाँको फुटब विकास, सीप, भौतिक संरचनामा लगानी जस्ता विविध गतिविधि सिकेर आउने अध्यक्ष बुढ्थापाले बताए । यो अन्तर्राष्ट्रिय भ्रमणको सुरुवात भएको र यस पछि बुटान र डेनमार्क भ्रमणमा जाने तालिका रहेको उनले जानकारी दिए । डेनमार्क गएर त्यहाँको प्रतिष्ठित दाना कप फुटबल प्रतियोगितामा सहभागी हुने र यसको लागी डेनमार्क दूतावासमा भिसाको फाइल पुर्याइसकेको क्लबका संरक्षक अजय बुढ्थापाले जानकारी दिए ।

प्रतिक्रिया