८ साउन, जुम्ला । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले विद्यार्थीलाई उपलब्ध ५०% यातायात सहुलियत जुम्लामा पनि कार्यान्वयन गर्न माग गरेको छ ।
आज दिउँसो प्रमुख जिल्ला अधिकारीलाई सो सहुलियत कार्यान्वयन गर्न भन्दै ध्यानाकर्षण पत्र बुझाएको हो । ध्यानाकर्षण पत्रमा भनिएको छ, "प्रस्तुत सन्दर्भमा लामो विद्यार्थी आन्दोलनको नतिजा स्वरुप विद्यार्थीहरुका हकहितलाई कार्यान्वयन गर्ने सन्दर्भमा विगतमा भएका विभिन्न सम्झौताहरुमा सार्वजनिक सवारीसाधनको प्रयोगमा विद्यार्थीहरुलाई ५०% छुटको गरिएको कुरा सबैलाई अवगत नै छ । तर जुम्ला जिल्लामा यो कार्यान्वयनमा नआएको प्रति अनेरास्ववियुको गम्भीर ध्यानाकर्षण भएको छ ।
ध्यानाकर्षण पत्रमा थप तल भनिएको छ, राज्यले नै निर्धारण गरेको सेवा सुविधा बाट विद्यार्थी जस्ता भविष्यका कर्णधार पुस्तालाई नै वञ्चित गरिने हो भने अन्य वर्ग र समुदायको हालत के होला ? त्यसैले यातायात व्यवसायी, नेपाल सरकार र विद्यार्थी संगठनहरुका बीचमा भएको सहमति, राज्यले गरेको कानुनी प्रावधान अनुसार मुलुकका अन्य ठाउँमा भाडा छुटको व्यवहारिक रूपमा कार्यान्वयन भइरहेको र जुम्ला जिल्लामा पनि तुरुन्त कार्यान्वयन गर्न गराउन सम्बन्धित सम्पुर्ण सरोकारवालाको ध्यानाकर्षण गराउन चाहन्छौं ।
ध्यानाकर्षण पत्र बुझाउदै अनेरास्ववियु केन्द्रिय सदस्य तथा जुम्ला इन्चार्ज विराज भण्डारीले राज्यले नै निर्धारण गरेको सेवासुविधा बाट जुम्लामा विद्यार्थीहरु बञ्चित हुनुपरेको भन्दै अनेरास्ववियुको गम्भीर ध्यानाकर्षण भएको बताए । यस्तै, विद्यार्थी नेता लिकेन्द्र गिरिले सार्वजनिक सवारीमा भाडा छुटको व्यवस्था तुरुन्तै कार्यान्वयन गर्न र नभएको खण्डमा अनेरास्ववियु कडा कदम चाल्न बाध्य हुने जनाए ।