२०७८ मङ्सिर २३ बिहिबार

रंगशाला निर्माणमा हात नझिकेको धुर्मुसको दाबी, अपनत्व ग्रहण गरिदिन सरकारलाई आग्रह

Nasoo -   नासो संवाददाता || २०७८ कार्तिक ३० मङ्गलबार

३० कार्तिक, जुम्ला । चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला ऋणमा चुर्लुम्म डुबेको छ । धुर्मुस सुन्तली फाउण्डेसनले जनस्तरबाट आर्थिक सहयोग संकलन गरेर निर्माण गरिरहेको रंगशालाको काम चार महिनादेखि ठप्प छ ।तीन अर्ब लागतको रंगशाला निर्माण गर्दा १७ करोडभन्दा बढी ऋण लागिसकेको फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले बताएका छन् । रंगशाला निर्माणमा ५४ करोडभन्दा बढी खर्च भइसकेको छ । रंगशालाको अपनत्व र अभिभावकत्व ग्रहण गरिदिन उनले सरकारलाई आग्रहसमेत गरेका छन् ।

धुर्मुस सुन्तली फाउण्डेसनको आधिकारीक फेसबुक पेजबाट १४ मिनेट नौ सेकेण्डको भिडियो सार्वजनिक गर्दै धुर्मुसले देशको जितकै लागि भए पनि सरकारले अपनत्व ग्रहण गरिदिनुपर्ने बताए । यस्तै अवस्था रहेर भोलिका दिनमा आफूहरू विचलित हुने दिन आएमा सिंगो देशको हार हुने उनले बताए ।३० हजार क्षमताको हुने रंगशालामा तीन हजार दर्शकले बसेर खेल हेर्न मिल्ने प्याराफिट बनिसकेको छ । मैदान पनि तयार भइसकेको छ । पिच निर्माण गर्न बाँकी छ । कोरोना महामारीका बेला पनि क्रिकेट रंगशालाको काम धमाधम भएको थियो ।

‘निर्माण सामग्री दिने विभिन्न कम्पनी र व्यक्तित्वहरू धेरै कुरिसक्नुभयो । कति कम्पनी त बन्द हुने अवस्थामा पुगेका छन् । उहाँहरूको तारन्तर फोन आइरहन्छ । तारन्तार मेसेज गरिरहनुहुन्छ, कहिले कहिले रु मसँग पनि जवाफ छैन कहिले रु’, उनले भावुक हुँदै भने ।सरकारकै नेतृत्वमा निर्माण गर्ने भए पनि आफुहरू सहयोगी भूमिका निर्वाह गर्न तयार रहेको उनले बताए । तीन तहकै सरकारलाई परियोजनाको अभिभावकत्व ग्रहण गरिदिन उनले आग्रह गरे ।

महामारी र चाडपर्वमा पनि आराम नगरी रंगशाला निर्माण अभियान जारी राखिएको स्मरण गर्दै उनले दर्शकको माया र ममता पाएर नै सामाजिक काममा हात हालिएको बताए । रंगशाला निर्माण परियोजनाको आफूहरू माध्यम मात्र भएको उनले बताए ।‘हरेक विषम परिस्थितिको सामना गर्दै रंगशाला जसरी पनि बन्नुपर्छ भनेर त्यो आँट, त्यो हिम्मतका साथ हामी अघि बढेका थियौँ । तर, बिडम्बना विगत चार महिनादेखि रंगशाला निर्माण अभियान रोकिएको छ’, उनले भने ।

सरकारको उपस्थितिमा घोषित परियोजना निर्माणका लागि सके जतिको उपाय अपनाइएको तर थोरै सहयोग अनि धेरै आश्वासन र धोका पाइएको उनले बताए ।‘सरकारलाई सुरुवाती दिनदेखि नै अभिभावकत्व ग्रहण गरिदिन अनुरोध गरिरह्यौँ’, उनी भन्छन्, ‘संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार । सबैको ढोकामा हामी पटकपटक पुग्यौँ । सिंहदरबार, ७५३ वटै सरकारका ढोकामा पत्राचार गरेका छौँ । अनुरोध गरेका छौँ । हामी नपुगेको ठाउँ, सायदै कम होला ।’

आर्थिक अनियमितता हुन नदिन आफूहरू सुरुवाती दिनदेखि नै सचेत रहेको उनले बताए । फाउण्डेसनले असार मसान्तसम्मको लेखापरीक्षण प्रतिवेदन केही दिनमा सार्वजनिक गर्ने तयारी गरेको छ । त्योसँगै भोगाइ र पीडा पनि सार्वजनिक गर्ने सुरमा छन्, धुर्मुस । हरेक आलोचना र टिप्पणीको जवाफ दिइने उनले बताए ।‘एकचोटी फेरि सबै जुर्मुराएर जुट्ने हो भने अबको ६ महिनादेखि वर्षदिनमा इतिहासमा पहिलो पटक ३० हजार क्षमताको अन्तर्राष्ट्रिय मादण्डको रंगशाला नेपालले पाउने छ’, उनले भने । रंगशालाको लागि सहयोग गरिसकेका ४० हजार जनाभन्दा बढीको भावनाको कदर सरकारले गर्नुपर्ने उनले बताए ।

प्रतिक्रियाह
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
Tila-3, Jumla
+977-9843718173
[email protected]
[email protected]
[email protected]

ड्रिम सिकर मल्टीप्रपोज पा.लि. द्वारा संचालित रेजिस्ट्रेसन नम्बर : २४४९७०/०७७/०७८          सुचना विभाग दर्ता नं : २३१५/०७७-७८                                                                        प्रबन्ध निर्देशक :- अमर नाथ योगी 
व्यवास्थापक :- लंक नाथ योगी
प्रधान सम्पादक :- मान बहादूर कुँवर

संवाददाताहरु :- सपना रावत, रबिन्द्र शाही, दिपक बुढ्थापा
क्यामेरा म्यान:- सोलोमन नाथ योगी        कानुनी सल्लाहकार :- अधिवक्ता अनिता      तिमल्सिना

सामाजिक संजाल