२०७९ साल चैत १२ गते अाईतबार

अस्पताल भर्ना भएका ९० प्रतिशत बिरामी द्वारा अर्कैको विमा कार्ड प्रयोग


२९ असार, जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा भर्ना भएका ९० प्रतिशत बिरामीले अर्कैको स्वास्थ्य विमा कार्ड प्रयोग गरेको पाइएको छ । 

मंगलबार स्वास्थ्य बीमा बोर्ड र जिल्ला प्रशासन कार्यालय जुम्लाले गरेको संयुक्त अनुगमनका क्रममा ठूलो संख्यामा अनाधिकृत रुपमा स्वास्थ्य विमा कार्ड प्रयोग भइरहेको पाइएको हो । अनुगमनका क्रममा यस्ता विमा कार्ड जफत गरिएको र बिरामीलाई कारबाही स्वरुप पुर्ण विल तिर्न लगाइएको छ । 

प्रतिष्ठानमा अर्को को नाममा रहेको बीमा कार्ड प्रयोग गर्ने गरेको जनगुनासो आएपछि अनुगमन गरेको स्वास्थ्य बीमा बोर्ड जुम्लाका जिल्ला संयोजक तथा जनस्वास्थ्य निरीक्षक कमल रावतले जानकारी दिए ।

उनले भने , ‘प्रतिष्ठानमा गरेको अनुगमनका क्रममा भर्ना भएका ९० प्रतिशत बिरामीले स्वास्थ्य बिमा कार्ड अनाधिकृत रूपमा प्रयोग गरेको पाइएको छ । अर्कैको नाममा रहेको विमा कार्ड अन्य व्यक्तिले प्रयोग गरेको पाइएको छ । यसरी अरुको विमा कार्ड प्रयोग गर्नेलाई उपचारमा लागेको खर्चको सबै बिल आफै भुक्तानी गर्ने लगाएको छ ।’

पहिलोपटक अनुगमन भएकोले सबैलाई सचेत गराइएको निरीक्षक रावतले बताए । साथै स्वास्थ्य विमा बारे अस्पतालका कर्मचारीलाई समेत राम्रोसँग जानकारी नभएको उनले बताए । विमा कार्ड प्रयोग गर्न अगाडि कर्मचारीले एकिन गरेर मात्र प्रयोग गर्न रावतले आग्रह गरेका छन् ।

सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजाल, सुरक्षा निकाय लगायत स्वास्थ्य बीमा बोर्डका कर्मचारीहरुको नेतृत्वमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनुगमन भएको थियो । बोर्डका अनुसार जुम्ला जिल्लाभर करिब साठी हजार बढीले स्वास्थ्य बीमा गरेको स्वास्थ्य बीमा वोर्ड जुम्लाले जनाएको छ ।

प्रतिक्रिया