
१५ माघ, जुम्ला । निवर्तमान उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नागरिकता पुनप्र्राप्ति प्रक्रिया थाल्ने भएका छन् । अहिले सर्वोच्चले नेपाली नागरिकता पुनप्राप्ती प्रक्रिया अपनाउनुपर्ने फैसला गरेसँगै लामिछानेले नेपाली नागरिकता पुनप्राप्ति प्रक्रियामा जाने तयारी गरेको स्रोतको दावी छ ।
सर्वोच्चले ‘पुरानो नागरिकतालाई वैधता दिन नसकिने’ भन्दै खारेज गरेसँगै लामिछानेको उपप्रधान तथा गृहमन्त्री र सांसद पद नै गएको थियो । उनले अमेरिकी नागरिकता त्यागे पनि नेपाली नागरिकता पुनप्राप्ति प्रक्रियामा गएका थिएनन् र पुरानै नेपाली नागरिकता प्रयोग गर्दै आइरहेका थिए ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंबाटै उनले नागरिकता पुनप्राप्ति प्रक्रिया पूरा गर्ने तयारी गरेका छन् । अमेरिकी नागरिकता त्यागेको निस्सासहित पुरानो नागरिकता पेस गरेमा लामिछानेले नयाँ नागरिकता पाउन सक्ने काठमाडौं प्रशासन स्रोतले बतायो । सम्भवतः उनी एक दुई दिनभित्रै नागरिकता पुनप्राप्ति प्रक्रियामा आउने जिल्ला प्रशासन कार्यालय काठमाडौंका एक अधिकारीले बताए । लामिछानले पनि आफ्ना कानुनी सल्लाहकारसँग यस विषयमा छलफल गरिरहेको उनीनिकट स्रोतले जानकारी दिएको छ ।
रविले सबैभन्दा पहिला नागरिकता पुनप्राप्ति थालेर नयाँ नागरिकता प्राप्त गर्नासाथ उनी वैध ठहरिन सक्छन् । त्यसपछि पुनः उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी सभापति हुने बाटो खुल्नेछ भने चितवनमा हुने उपनिर्वाचनमा उम्मेदवार हुन कुनै समस्या पर्दैन । आजको राजधानी दैनिकमा समाचार छ ।