२०७९ साल जेठ ७ गते शनिवार

बजार अनुगमन कार्य प्रभावकारी बनाउदै जिल्ला प्रशासन कार्यालय


२० वैशाख, जुम्ला । जिल्ला प्रशासन कार्यालय जुम्लाले बजार अनुगमनलाई प्रभावकारी बनाएको छ । प्रमुख जिल्ला अधिकारीको निर्देशन र निगरानीमा ९ महिनाको अवधिमा १० पटक बजार अनुगमन भएको छ । जुम्ला सदरमुकाम र सदरमुकाम बाँहेकका बजारमा पनि अनगुमन गरिएको प्रमुख जिल्ला अधिकारी विजय कुमारी प्रसाईले बताउनु भयो ।

जिल्ला प्रशासन कार्यालय जुम्लाको नेतृत्वमा भइरहेको बजार अनुगमन प्रभावकारी भइरहेको सम्बद्धहरुले जनाएका छन् । जुम्ला द्योग वाणिज्य संघ, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय, जिल्ला प्रहरी कार्यालय, स्थानीय तह, नागरिक समाज र संचारकर्मीको सहभागितामा बजार अनुगमन गरिएको उहाँले बताउनु भयो ।

प्रसाईका अनुसार कालोबजारी र मिसावटलाई रोक्दै उपभोक्ताको खाद्य अधिकारको रक्षा गर्नको लागि बजार अनुगमन गरिएको जानकारी गराउनु भयो । जनताको आँखामा छारो हालेर स्वास्थ्यसँग खेलवाड हुने गरी गुणस्तरहीन अखाद्य वस्तु बिक्री गर्ने व्यापारिक र उद्योगीलाई कारबाही गरिने उहाँको भनाइ छ ।

जनताको स्वास्थ्यसँग प्रत्यक्ष खेलवाड गर्ने गरी गुणस्तरहीन अखाद्य वस्तु उत्पादन तथा बिक्री गर्ने कार्य भेटिएमा कानुन बमोजिम कारबाहीको लागि प्रक्रिया अघि बढाईने प्रमुख जिल्ला अधिकारी प्रसाईको भनाइ छ । स्थानीय सरकार गठन भईसकेपछि स्थापना भएको उपभोक्ता हित संरक्षण शाखाले बजार अनुगमनलाई निरन्तरता दिन नसकेको हुनाले जिल्ला प्रशासन कार्यालयको अगुवाईमा अनुगमनको कामलाई तिव्रता दिईएको सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले बताउनु भयो ।

नियमित हुने बजार अनुगमनका क्रममा उद्योगी तथा व्यवसायि संग भेटघाट गरी उनीहरुलाई दर्ता र नवीकरणका बारेमा सचेत गराउन थालेपछि दर्ता तथा नवीकरण गराउनेको संख्यामा बृद्धि भएको उहाँको भनाइ छ । संघियता कार्यान्वयन पश्चात र उपभोक्ता संरक्षण ऐन, २०७५ र नियमावली २०७६ अनुसार बजार अनुगमनको प्रमुख जिम्मेवारी स्थानीय तहमा रहेपनि संयुक्त बजार अनुगमनको कार्यलाई निरन्तरता दिदै आएको उहाँले जानकारी गराउनु भयो ।

जुम्ला जिल्ला स्थित फ्रेस हाउस, होटल, औषधि पसल, किराना पसल र डेरी पसल लगायतका व्यवसायहरुको अनुगमनका क्रममा म्याद सकिएका खाद्य तथा अखाद्यवस्तु २ लाख ५८ हजार १ सय ८९ रुपैयाँ बराबरका सामाग्री जफत गरि जिल्ला प्रशासन कार्यालयको परिसर र पालिका स्तरको केन्द्रमा सरोकारवाला निकायको रोहोबरमा नष्ट गरिएको रिजालले जानकारी गराउनु भयो ।

नागरिकको उपभोक्ता हित संरक्षण सम्बन्धि संवैधानिक र मौलिक हक सुनिचित गर्न चालु आ.व. २०७८/०७९ को तेश्रो त्रैमासिक सम्म विभिन्न स्थानीय तहका दुर्गम बजारमा ९ महिनाको अवधिमा १० पटक अनुगमन भएको उहाँको भनाइ छ । अनुगमन गर्ने क्रममा म्याद नाघेका खाद्यवस्तु, मूल्यसूची नभएका पसल, उपभोक्तामा सचेतनाको कमी तथा उपभोक्ताको हक संरक्षणमा स्थानीय तहले नेतृत्व नलिएको जस्ता साझा समस्या देखिएको रिजालले बताउनु भयो ।

२०७८ असोज ८ गते कनकासुन्दरी, सिंजा, हिमा गाउँपालिका र चन्दननाथ नगरपालिकामा गरिएको अनुगमन पछि ३२ वटा पसललाई कारबाही तथा सचेत गराईएको उहाँको भनाइ छ । उक्त अनुगमनका क्रममा १ लाख २६ हजार ५ सय ४९ रुपैयाँ बराबरको सामान जफत गरि नष्ट गरेको उहाँले बताउनु भयो ।

रिजालाका अनुसार २०७८ कार्तिक १८ गते जुम्ला बजारका १८ वटा पसल अनुगमन गर्दा २४ हजार ३ सय ३५ रुपैयाँ बराबरको सामान जफत गरेको बताउनु भयो । उहाँका अनुसार २०७८ पुस २९ गते जुम्ला बजार क्षेत्रका ३२ वटा पसल अनुगमन गर्दा ३८ हजार ८ सय ५ रुपैयाँ बराबरको सामान बरामद गरेको भन्दै २०७८ माघ ७ गते जुम्ला बजारमा उपलब्ध सिटामोलको अवस्थाका बारेमा ८ वटा औषधि पसलको अनुगमन भएको बताउनु भयो ।

२०७८ माघ १८ गते कनकासुन्दरी र सिंजा गाउँपालिका भित्रका १५ वटा पसल अनुगमन गर्दा ६० हजार बराबरको सामान बरामद गरिएको उहाँले बताउनु भयो । २०७८ चैत ३ गते सिंजा गाउँपालिकाको नराकोटमा व्यापारी र उपभोक्तालाई सचेत गराईएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।

२०७८ चैत १७ गते गुठीचौर गाउँपालिका रहेका पाउरोटि र चाउमिन उद्योगमा अनुगमन गरि आवश्यक सुझाव दिईएको छ । यति सुझावलाई अटेर गरेमा प्रक्रिया अनुसार अघि बढ्ने प्रशासनले जनाएको छ ।

प्रतिक्रिया