२०८१ साल ब‌ैशाख १८ गते मङ्गलबार

प्रथम 'जेआर कर्णाली स्कुल ५ किलोमिटर रन' वैशाख २५ गते


१८ वैशाख, जुम्ला । जुम्लाको जय रत्न कर्णाली बोर्डिङ स्कुलले प्रथम 'जेआर कर्णाली बोर्डिङ स्कुल ५ किमि रन' यहीँ वैशाख २५ गर्ने भएको छ । १६ वर्ष मुनिका बालबालिकालाई लक्षित गर्दै विद्यालयले पहिलोपटक छात्रछात्रा ५ किलोमीटरको दौड प्रतियोगिता आयोजना गर्न लागेको विद्यालयका सहायक प्रधानाध्यापक अमर नाथ योगीले बताए । 


यसै शैक्षिकसत्रमा विद्यालयले केहि उत्कृष्ट काम गरेकोमा अन्तिम कार्यक्रम स्वरुप १६ वर्ष मुनिको छात्रछात्रा दौड प्रतियोगिता गर्न लागेको पत्रकार सम्मेलन मार्फत उनले जानकारी दिए । पढाइमा मात्रै दबाब दिने परिपाटीकाे अन्त्य गर्दै १६ वर्ष मुनिका विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा समेत सामेल गराउने परिकल्पनाका साथ याे दाैड प्रतियोगिताकाे आयाेजना गरिएकाे उनको भनाइ छ ।


यस्तै, विद्यालयका प्रधानाध्यापक फुर्बा शेर्पाले पनि विद्यार्थीलाई खेलकुद मार्फत आफ्नो क्षमता विकास गर्न सहयोग पुग्ने लक्ष्यका दौड प्रतियोगिता गरिएको जानकारी दिए । अब देखि प्रत्येक वर्ष यस प्रतियोगितालाई निरन्तरता दिने उनको भनाइ रहेको छ ।


प्रतियोगिताकाे विजेतालाई ५ हजार नगद साथै मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । त्यस्तै, द्वितीयलाई ३ हजार र  तृतीयलाई २ हजार नगद र मेडल तथा प्रमाणपत्र प्रदान गरिने सहायक प्रधानाध्यापक योगीले बताए । 


प्रतियोगिता जे.आर. केबिएसकाे मैदानबाट सुरु भएर चन्दननाथ मन्दिर अगाडि टुंगिने छ । दाैडकाे रुट केबिएस, बसपार्क, राजासिम, कालेखाेलि, गणकाे बाटाे, मानव चाेक, टुडिखेल हुँदै चन्दननाथ मन्दिर गएर टुंगिने कर्णाली स्पाेर्ट क्लबका सचिव मधुराज न्याैपानेले बताए । 


प्रतियोगिताको लागी चैत १९ देखि चैत २४ गते सम्म विद्यालयमा फारम उपलब्ध हुनेछ । दर्ता शुल्क १ सय रुपैयाँ ताेकिएकाे छ । भने, फारम भर्नाको लागी जन्म दर्ताको फोटोकपी आवश्यक पर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा अनुमानित खर्च ७० हजार सम्म हुने अनुमान गरिएको छ। याे प्रतियोगिताकाे टेक्निकल सपाेर्टमा कर्णाली स्पाेर्ट क्लब रहेकाेछ । विज्ञान प्रदर्शनीकाे सफलता पछि दाैड प्रतियाेगिता सञ्चालन गर्न तम्सिएकाे जेआर केबिएसले याे प्रतियोगिता हरेक वर्ष सञ्चालन हुने जनाएको छ ।

प्रतिक्रिया