२०८१ साल ब‌ैशाख ६ गते बिहिबार

एक करोड ३७ लाख २० हजार रूपैयाँमा बिक्यो युक्रेनी राष्ट्रपति जेलेन्स्कीको ज्याकेट


२७ वैशाख, एजेन्सी । युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले लगाएको ज्याकेट एक करोड ३७ लाख २० हजार रूपैयाँ (अमेरिकी एक सय एघार हजार अमेरिकी डलर) मा बिक्री भएको छ।

सिएनएनका अनुसार राष्ट्रपति जेलेन्स्कीले लगाएको फ्लिसको ज्याकेटमा उनले हस्ताक्षर समेत गरेका छन्। उक्त ज्याकेट बिहीबार लन्डनमा आयोजित कार्यक्रममा युक्रेनको सहयोगको लागि बिक्री भएको हो।

यसै सन्दर्भमा बेलायतको लागि युक्रेनी दूतावासले एक भिडियो ट्विट गरेको छ। भिडिओसँगै क्याप्सनमा लेखेको छ, 'थुप्रै फ्लिसको ज्याकेटमध्ये जेलेन्स्कीको एक मात्र यो ज्याकेट, ९० हजार पाउन्डमा बिकेको छ।'

भिडियोमा राष्ट्रपतिले उक्त ज्याकेट लगाएर युद्धमा हिँडेको फोटा र भिडिओ क्लिपहरू देख्न सकिन्छ।

लन्डनमा आयोजित कोष संकलन कार्यक्रमको मुख्य उद्देश्य युद्धको समयमा युक्रेनीहरूले देखाएको बहादुरीका कथाहरू सुनाउनु र यो बहादुरीलाई समर्थन गर्न कोष जुटाउनु रहेको दूतावासले जनाएको छ। 

लन्डनमा युक्रेनी दूतावासले टेट आधुनिक आर्ट ग्यालरीमा 'ब्रेभ युक्रेन' कोषको आयोजना गरेको हो। जसमा युक्रेनी प्रथम महिला ओलेना जेलेन्स्कीले बच्चाहरूको लागि खेलौना, स्वर्गीय फोटोग्राफर म्याक्स लेभिनले खिचेका तस्बिरहरू र जेलेन्स्कीको ज्याकेट कोषको लागि दिएकी हुन्। 

उक्त कोषमा करिब ७ करोड ७४ लाख रूपैयाँ (एक मिलियन अमेरिकी डलर) संकलन भएको जनाइएको छ। दूतावासका अनुसार सो रकम विशेषत पश्चिमी युक्रेनी विशेषीकृत बाल चिकित्सा केन्द्रको मर्मतमा खर्चिनेछ।

कोषको एक कार्यक्रममा बेलायती प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनी राष्ट्रपति जेलेन्स्की सँग भिडियो मार्फत कुराकानी गर्दै उनको नेतृत्व र युक्रेनीहरूको बहादुरीको प्रशंसा गरेका थिए। 

प्रतिक्रिया