
९ चैत, स्टकहोम । स्विडेनको दक्षिणी शहर माल्मोस्थित एउटा विद्यालयमा भएको हिंसात्मक आक्रमणमा ५० वर्ष उमेरका दुईजना शिक्षिकाले ज्यान गुमाएको प्रहरीले जनाएको छ ।
हत्याको आशंकामा सोही विद्यालयका एकजना १८ वर्षीय विद्यार्थीलाई पक्राउ गरिएको छ । स्थानीय सञ्चार माध्यमले आक्रमणमा कुनै बन्दुक तथा विस्फोटक पदार्थ प्रयोग नगरिएको र शिक्षिकाहरूमाथि छुरा प्रहार गरिएको बताएका छन् ।
माल्मो ल्याटिन विद्यालयका दुई शिक्षिकालाई घाइते अवस्थामा तत्कालै एम्बुलेन्समा राखेर अस्पताल पुर्याइएको थियो । तर चोटको कारण उपचारकै क्रममा उनीहरूको मृत्यु भएको हो ।
मंगलबार बिहान आयोजित पत्रकार सम्मेलनमा प्रहरीले घटनाको सूचना पाएको दस मिनेटभित्रै शंकास्पद व्यक्तिलाई गिरफतार गरिएको जानकारी दिएको थियो ।
प्रहरीले विद्यालयको तेस्रो तलामा घाइते शिक्षिकाहरू नजिकै शंकास्पद व्यक्तिलाई भेटाएको थियो । स्विडेनी न्युज आउटलेट एफटोनब्लाडेटबका अनुसार पक्राउ परेका ती विद्यार्थीको साथबाट एउटा बन्चरो र छुरा बरामद भएको थियो ।
प्रहरीले उनको विगतमा कुनै अपराधिक अभिलेख नरहेको तथा विस्तृत अनुसन्धान जारी रहेको जनाएको छ । हत्याको उद्देश्य थाहा हुन सकेको छैन । प्रहरीले आक्रमणकारीको घरमा खानतलासी लिएको तथा विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूसँग सोधपुछ गरिँदै गरेको जानकारी दिएको छ ।
माल्मो प्रहरी प्रमुख पेट्रा स्टेनकुलाले नाम नखुलाइएका ती किशोर आफैँले आफूले दई व्यक्तिको हत्या गरेको सूचना प्रहरीलाई दिएको बताएका छन् । घटनाको समयमा विद्यालयमा विद्यार्थी र शिक्षक गरी करिब ६५० जना थिए ।