९ फागुन, जुम्ला । सरकारी विद्यालयका स्वास्थ्य शिक्षकहरूलाई बालबालिकाको सामान्य स्वास्थ्य परिक्षण सम्बन्धि एक दिने अभिमुखिकरण तालिम प्रदान गरिएको छ । किर्डाक नेपालको आयोजना र वल्ड भिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा २५ जना शिक्षकहरूलाई अभिमुखिकरण गरिएको हो ।
गुठिचौर गाउँपालिका, पातरासी गाउँपालिका, चन्दननाथ नगरपालिका, र तातोपानी गाउँपालिका अन्तर्गत विभिन्न विद्यालयका स्वास्थ्य शिक्षकहरूलाई तालिम दिइएको आयोजक किर्डाककी फिल्ड अफिसर मेलिना बुढाले जानकारी दिइन् । उनका अनुसार बालबालिकाको सामान्य स्वास्थ्य परिक्षण गर्न सकुन् भनेर उक्त तालिम प्रदान गरिएको हो । साथै सामान्य स्वास्थ्यमा आउने गडबडीले पनि बालबालिकाको शिक्षण क्रियाकलापमा असर पुगिरहेको हुन सक्ने हुनाले अध्यापन गराउन अगाडि शिक्षकले बालबालिकाको स्वास्थ्य अवस्था बारे सचेत होउन् भन्ने उदेश्यले तालिमको आयोजना गरिएको अफिसर बुढाको भनाइ छ ।
कार्यक्रममा सहभागी शिक्षकहरूलाई डा. कबिराज पौडेलले प्रशिक्षण गराएका थिए । डा. पौडेलले आँखा, कान, तौल, उचाई, दातको रोग जस्ता सामान्य रोगको परिक्षण के कसरी गर्न सकिन्छ भनेर सिकाएका थिए । प्रशिक्षक पौडेलले सामान्य स्वास्थ्य गडबडीले पनि बालबालिकाको शिक्षण क्रियाकलापमा ठूलो असर परिरहेको हुनसक्नी बारे शिक्षक सचेत हुनुपर्नेमा जोड दिए ।
यस्तै, कार्यक्रममा सहभागी चन्दननाथ नगरपालिका वडा नम्बर १० का चन्द्र देवकोटाले कार्यक्रम निकै फलदायी भएको प्रतिक्रिया दिए । उनले भने, "तौल अनुसारको उचाइ हुनुपर्ने रहेछ, आज यसबारे प्रष्ट भइयो । अर्का पातरासी गाउँपालिका बाट सहभागी भएका बलिचन्द्र देवकोटाले आयोजक प्रती नमन व्यक्त गर्दै आगामी दिनमा यस्ता कार्यक्रमको निरन्तरताको खाचो औल्याए ।
कार्यक्रमको अन्तमा सहभागी सबैलाई स्वास्थ्य उपचारका सामग्री पनि प्रदान गरिएको थियो । सहभागी सबैलाई तौल नाप्ने मेसिन, स्नेल चार्ट, मेजरिङ्ग टेप र टर्च एकएक थान बाडिएको आयोजकले जनाएको छ ।