९ पुस, जुम्ला । वल्ड भिजन इन्टरनेशनल नेपालको सहयोग र किर्डाक जुम्लाको साझेदारीमा संञ्चालित एकीकृत पोषण तथा उत्थानशिल जिविको पार्जन परियोजना अन्तर्गत जिल्लाभर ६७ कृषि समूह गठन गरिएको छ ।
जिल्लामा उत्पादन हुने आलु, सिमि, स्याउ र तरकारीको उत्पादन र बजारीकरण गर्ने उदेश्यले कृषि समूह गठन गरिएको फिल्ड अफिसर सरु महतले जानकारी दिइन् । चन्दननाथ नगरपालिका, पातरासी गाउँपालिका, गुठिचौर गाउँपालिका र तातोपानी गाउँपालिकामा गरेर जम्मा ४५ समुह गठन गरिएको उनले बताइन् ।
यस्तै तिला गाउँपालिका अन्तर्गत विभिन्न वडाहरुमा २२ कृषि समूह गठन गरिएको किर्डाक जुम्लाका अर्का फिल्ड अफिसर पुङ्केश्वर भामले बताए । उनका अनुसार वडा नम्बर एकमा दुई समूह, वडा छ मा पाँच समूह, वडा सातमा पाँच समुह, आठमा तीन समूह र वडा नम्बर नौ रासा, मालापानी, ढिपु अन्तर्गत सात कृषि समूह गठन गरिएको हो ।
कृषकलाई तालिम दिई उत्पादन बढाउनु र बजारीकरण गर्न सहयोग पुर्याउनु यसको मुख्य उदेश्य रहेको फिल्ड अफिसर भामले बताए । साथै कुपोषण र पोषणका बारेमा जानकारी दिनु, उत्पादन समुहको महत्त्व र आवश्यकताका बारेमा जानकारी दिनु अन्य उदेश्य रहेको किर्डाक जुम्लाले जनाएको छ ।