२०८१ साल ब‌ैशाख १८ गते मङ्गलबार

पूर्वराजा ज्ञानेन्द्र शाहलाई नागरिक अभिनन्दन


काली बहादुर परियार 


२४ चैत, जुम्ला । जुम्लाको खलंगा बजारमा शनिवार पूर्वराजा ज्ञानेन्द्र शाहलाई नागरिक अभिनन्दन गरिएको छ । जुम्ला जिल्लाको सदरमुकामको खलंगा बजारको जिल्ला प्रशासन कार्यालय अगाडी नागरिक अभिनन्दन कार्यक्रम  गरिएको हो । अभिनन्दन कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र शाह सहित, पूर्वरानी कोमल राज्य लक्ष्मी, छोरी प्रेरणाको उपस्थिति रहेको थियो । नागरिक अभिनन्दन कार्यक्रमका संयोजक बिष्णु बहादुर बुढथापाले जुम्ला बासिको तर्फबाट भन्दै अभिनन्दन पत्र पूर्वराजा शाहालाई हस्तान्तरण गर्नु भएको छ ।

पूर्वराजा ज्ञानेन्द्र शाहले कार्यक्रममा आफु कहीँ कतै नगएको र सधै नेपाली जनताको सुख दुःखलाई नजिकै बाटै नियालि रहेको बताउनु भयो । उहाँले भन्नुभयो, पछिल्लो समयमा देशको अवस्था जर्जर भएको र लाखौं युवा देशको माया हुँदा हुँदै पनि वाध्यकारी परिस्थितिले गर्दा विदेशिन परेको बताउनु भयो । आफुले रोजेको बाटो ठिक अरुको बाटो बेठिक भन्ने सोच भन्दा माथि उठेर अगाडी बढ्ने बेला आएको उहाँको भनाइ छ ।


पुर्वराजा शाहाका अनुसार प्राचीन ऐतिहासिक स्थल जुम्लाको खलंगामा आइ यहाँका स्वाभिमानी जनता जनार्दन सामु उभिन पाउँदा आफुलाई गौरव अनुभव भएको बताउनु भयो । यो सुन्दर स्थलमा उपस्थित भइरहँदा मलाई आफ्ना गौरवशाली पिता पुर्खाको पनि सुखद स्मरण भइरहेको छ । साँच्चै नै जुम्ला हामीहरूको राष्ट्रियता, हाम्रो भाषा, हाम्रो धर्म संस्कृति र हाम्रो सुन्दर सुसम्पन्न प्रकृतिको दिव्य धरोहर भएको समेत उहाँले प्रशंसा गर्नु भएको छ ।


नेपाल राष्ट्रको एकीकरण हुनु अघि बाइसे चौबीसे राज्य चरणमा पनि जुम्ला, सिंजा सभ्यताको केन्द्र स्थलको रूपमा रहेको इतिहास छ । चन्दननाथले पहाड खोपेर तलाउ क्षेत्र खलंगामा तलाङ बस्ती बसाएको, धौला र गरल जुम्ल्याहा डाँडा भएकोले जुम्ला नाम रहन गएको ऐतिहासिक तथ्य भेटिन्छ । अनेकौं अग्ला चुचुरा, भीर, पाखा, खोच र केही मैदानी खोला खोल्सीले भरिपूर्ण जुम्ला कर्णाली, तिला र सिंजा नदीद्वारा उर्वर र वैभवको थलो मानिने शाहाले बताउनुभयो ।


उहाँले भन्नुभयो, नेपालगंज, दार्चुला, तुला, ताक्लाकोट सम्मको व्यापारिक पहुँच राख्ने यो क्षेत्र खेतीपाती, भेडा, चौरी र घोडा पालनका हिसाबले महत्वपूर्ण रहेकोकाले कालो मार्सि धान, स्याउ, ओखर, केशर र अनेक प्रकारका बागवानी र वन्य वनस्पती जन्य जडीबुटी जुम्लाका आफ्नैपनमा आधारित विशिष्टताहरू रहेको बताउनु भयो ।


यस्तै अभिनन्दन कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञान बहादुर शाहीले राजा भनेका सबैका साझा भएकाले कोहि कसैले पार्टीका हिसावले नभएर आफ्नो राजा मान्नु पर्ने बताउनु भयो । उहाँका अनुसार राजा र जनताको सम्बन्ध नङ र मासुको जस्तो रहेको तर यहाँ गलत भ्रम फैलाईएको भन्दै मञ्च बाटै राजा आउ देश वचाउ भन्दै नारा समेत लगाउनु भएको छ ।


यस्तै नागरिक अभिनन्दन समारोहका संयोजक बिष्णु बहादुर बुढ्थापाले जुम्ला बासिको बिन्तिपत्रलाई स्विकार गरेर आई दिनु भएकोमा धन्यवाद दिदै गणतन्त्रले देशमा भएको सबै उद्योग कलकारखाना बन्द गराएर सबै युवा लाई विदेश जान बाध्य बनाएको बताउनुभयो ।

फोटो: मान बहादुर कुँवर

प्रतिक्रिया