२०७९ साल मङ्सिर १४ गते बुधबार

केपी ओलीले खोले दुवै पटक प्रधानमन्त्रीबाट हट्नुपरेको भित्री रहस्य


१६ साउन, जुम्ला । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा सहितको भूमि समेटेर चुच्चे नक्सा जारी गरेपछि आफूलाई प्रधानमन्त्रीबाट हटाइएको तथ्य राख्नुभएको छ ।

चुच्चे नक्सा जारीभएपछि भारतले नेपाली एजेण्ड प्रयोग गरेर आफूलाई हटाएको प्रष्ट तथ्य ओलीले सुनाउनु भएको हो । पूर्वसचिव द्वारिकानाथ ढुंगेलको ‘चक्रव्यूहमा नेपालको जलस्रोत’ नामक पुस्तक सार्वजनिक गर्दै एमाले अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो । उहाँले आजको युगमा देश जोगाउन लड्न नपर्ने भन्दै देशभक्तिको पक्षमा अडिए पुग्ने तथ्यसमेत औंल्याउनु भयो ।

‘हाम्रो गुमेको भू–भाग समेटेर नक्सा जारी गर्दै गर्दा मलाई प्रधानमन्त्रीबाट हट्नुपर्छ, अब उपद्रो हुन्छ भन्ने थाहा थियो । नभन्दै हट्नुपर्यो,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘हटनु परेकोमा मलाई पीर छैन तर देश जता लगिँदैछ, त्यस कुरामा चाहिँ पीर छ । आजको दिनमा देशभक्त हुन लडाइँ लड्नु पर्दैन, देशको पक्षमा अड्नुपर्छ । अडिए पुग्छ, म अडिएको हुँ । अडिँदा प्रधानमन्त्रीबाट हटाउँछन भन्ने थाहा थियो ।’

नेपालको नक्सा जारी गर्ने पतात्कालिन प्रधानमन्त्री ओलीले पहिलोपटक प्रधानमन्त्री हुँदा चीनसँग पारवहन सन्धि गरेपछि आफूलाई हटाइएको र दोस्रोपटक लिम्पियाधुरा सहितको नक्सा जारी गरेपछि हट्नुपरेकोमा कत्ति पनि हिनताबोध नरहेको बताउनु भयो ।

ओली नेतृत्वको सरकारले नक्सा जारी गरेपछि नै तात्कालिन नेकपाका दोस्रो अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल ओलीबिरुद्ध गठबन्धन बनाएर लाग्नुभएको थियो । उहाँहरुले भारतले नभई आफूहरुले प्रधानमन्त्री हटाउने चाहेको भन्दै भारतीय एजेण्ट भएको प्रमाणसमेत त्यसैबेला दिनुभएको थियो ।

प्रतिक्रिया