
५ चैत, जुम्ला । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले पहिलो पटक आफ्नो विशाल ‘मून रकेट’ सार्वजनिक गरेको छ। ‘स्पेस लन्च सिस्टम’ (एसएलएस) रकेटलाई फ्लोरिडाको केनेडी स्पेस सेन्टरको लन्चप्याडमा डमी काउन्टडाउनको लागि लगिएको छ। यो कार्यक्रम हेर्न करिब १० हजार मानिस जम्मा भएका थिए।
यदि सबै ठीक भयो भने यसमा त्यसपछि धेरै परीक्षणहरू गरिनेछ र अन्तिम एउटा ‘वेट ड्रेस रिहर्सल’ हुनेछ। ओरियन क्रु क्याप्सुल रकेटको शीर्षमा फिक्स गरिसकेपछि एसएलउस ब्लक १ को उचाइ ३२२ फिट (९८ मिटर) मा पुग्छ। यो स्ट्याच्यु अफ लिबर्टी भन्दा अग्लो छ, तर यो नयाँ रकेट ३६३ फिट भएको ‘स्याटर्न भी’ रकेट भन्दा अलि सानो छ। चन्द्रमामा अपोलो स्याटर्न भी रकेटको सहयोगमा सञ्चालन गरिएको थियो।
यद्यपि, एसएलएस रकेटले ८.८ मिलियन पाउण्ड अधिकतम थ्रस्ट (३९.१ मेगान्यूटन) उत्पादन गर्नेछ, जुन स्याटर्न भी रकेट भन्दा १५ प्रतिशत बढी हो। यसको अर्थ जब यसले काम गर्न थाल्छ, यो संसारको सबैभन्दा शक्तिशाली रकेट हुनेछ। कार्यक्रम हेर्न आएका मानिसहरुलाई सम्बोधन गर्दै नासाका प्रशासक बिल नेल्सनले भने “संसारको सबैभन्दा शक्तिशाली रकेट तपाईहरुको अगाडि रहेको छ।”
समाचार एजेन्सीका अनुसार यो रकेट जति ठूलो र शक्तिशाली छ, त्यति नै महँगो पनि रहेको छ। नासाका इन्स्पेक्टर जनरल पौल मार्टिनले यस महिना अमेरिकी कंग्रेसलाई पहिलो चार अर्टेमिस १ मिसनहरूको लागि रकेटको प्रति प्रक्षेपण लागत ४.१ अर्ब डलर हुने बताएका थिए।
लन्चप्याडमा पुगेपछि, इन्जिनियरहरूसँग यो रकेट जाँच गर्न दुई हप्ताको समय हुनेछ। यसपछि ‘वेट ड्रेस रिहर्सल’ हुनेछ। एसएलएस टोलीले ७ लाख ग्यालन (३.२ मिलियन लिटर) भन्दा बढी क्रायोजेनिक प्रोपेलेन्ट रकेटमा लोड गर्नेछ र प्रक्षेपणको प्रत्येक चरणको परीक्षण गर्नेछ। यो परीक्षण मात्र भएको हुनाले रकेट उडानका लागि ‘ब्लास्ट’ हुनुभन्दा १० सेकेन्ड अघि टोली रोकिनेछ।
यो प्रणाली विगत एक दशकदेखि निर्माणको क्रममा रहेको र ढिलाइका कारण यसको लागत बढेको हो। यद्यपि, एक पटक यो सफलतापूर्वक प्रक्षेपण भएपछि यसले यसको विकासमा भएको ढिलाइ कभर गर्ने नासा आशा गरेको छ। यो रोलआउटका साथ नासाले अब आफ्नो अर्टेमिस १ मिशन कहिले सुरु गर्ने निर्णय गर्नेछ। अर्टेमिस मिसनको उद्देश्य एक पटक फेरि मानिसलाई चन्द्रमामा अवतरण गराउनु हो।
सन् २०१० मा एसएलएसको काम सुरु भए पनि प्राविधिक समस्याका कारण आयोजनामा कठिनाइ भएको थियो। नासाको अर्टेमिस १ मिशन गत वर्ष नोभेम्बरमा उड्ने थियो। प्रक्षेपण हुनुभन्दा एक महिना अघि, नासाले टाइमलाइनलाई पछाडी सारेको र यो मिसन फेब्रुअरीको मध्यसम्ममा प्रक्षेपण गरिने बताएको थियो।