२८ असोज, जुम्ला । जुम्लाको चन्दननाथ र भैरवनाथ मन्दिरमा नयाँ लिंगो ठड्याइएसँगै कर्णालीमा दशैंको रौनक सुरु भएको छ । परम्परागत रूपमा मन्दिरमा लिंगो ठड्याइसकेपछि मात्रै कर्णालीका बासिन्दाले घटस्थापना सुरु गर्ने प्रचलन छ ।
स्थानीयले बाजागाजासहित पूजा गरी लिंगो फेर्ने चलनअनुसारै यसपटक पनि नयाँ लिंगो ठड्याइएको चन्दननाथ भैरवनाथ गुठी व्यवस्थापन समितिले जनाएको छ । सरकारी कार्यालयका कर्मचारी, सेना, प्रहरीले ल्याउने पल्टन लिंगो, स्थानीय ९ गाउँका ब्राह्मणले ल्याउने थपाला लिंगो र स्थानीय दलित समुदायले ल्याउने कम्सल लिंगो , एउटा चन्दननाथको पुरानो लिंगो र विजयी स्तम्भ गरी पाँचवटा लिंगो गाड्ने चलन छ ।
चन्दननाथ भैरवनाथ मन्दिरमा ५२ हाते लिंगोका लागि ५२ हाते ध्वाजा मुगुबाट आउने, लिंगोमा लगाउने गेरु, टुप्पोमा लगाउने चौरीको फुर्का र थप्का हुम्ला जिल्लाबाट ल्याइने गरिन्छ । यस्तै लिंगो खडा गर्न कालीकोटबाट डोरी आउने चलन रहे पनि पछिल्लो समय विस्तारै यो परम्परा हराउँदै छ ।
चन्दननाथ र भैरवनाथ मन्दिरमा ५२ हाते लिंगो र ५२ हाते कपडा राखिन्छ । पुर्खादेखि नै चन्दननाथ र भैरवनाथ मन्दिरमा विजय स्तम्भसहित पाँच पुराना लिंगो झिकेर नयाँ ठड्याउने चलन रहेको छ ।
तत्कालीन राजाले चीनबाट युद्ध जितेर फर्कंदा गजुर ल्याएर मन्दिरमा चढाएको र १४९८ सालबाट यो मन्दिरमा लिंगो गाड्ने परम्परा रही आएको छ । प्रत्येक दिन पूजा हुने प्रसिद्ध मन्दिरमा साताको एकपटक विशेष पूजा हुने र एक वर्षमा ५२ साता हुने भएकाले ५२ हाते ध्वाजासहित ५२ हाते लिंगो खडा गरी घटस्थापना गर्ने चलन छ ।।