२०७९ साल जेठ ७ गते शनिवार

योङ्ग स्टार फुटबल क्लबलाई एन्फा जिल्ला लिगको उपाधी

१२ असोज, जुम्ला । एन्फा जिल्ला लिगको उपाधी  राइको योङ्ग स्टार फुटबल क्लब जितेको छ । आज बिहान भएको फाइनलमा उसले ढाँणथपला युवा क्लबलाई पराजित गर्दै उपाधी चुमेको हो । 

फाइनल खेलमा योङ्ग स्टारले ढाँणथपला युवा क्लबलाई ६ - २ गोलको फराकिलो अन्तरले हराएको हो । फाइनल खेलको पहिलो हाफ २ - २ गोलको बराबरीमा सकिएको थियो । तर दोश्रो हाफमा योङ्ग स्टारले ४ गोल थप्दा ढाँणथपलाले कुनै गोल गर्न सकेन । 

फाइनल खेलको २८ मिनेटमा योङ्ग स्टारका क्याप्टेन केशव हमालले मिडबाट हानेको बलले जाली चुम्दै गोल भएको थियो । यस्तै, ३४ मिनेटमा रुबेन भण्डारीले टिमको लागी दोश्रो गोल गरे । भने, त्यसको ३ मिनेटपछि ढाँणथपलाका चक्र लामाले पहिलो गोल गर्दा ४० मिनेटमा अविशेक बुढ्थापाले अर्को गोल गर्दै खेललाई बराबरीमा ल्याए । 

त्यस्तै, दोश्रो हाफमा योङ्ग स्टारले चार गोल थप्यो । दोश्रो हाफमा रुबेन भण्डारीले दुई गोल थप्दा कृष्ण राई र विनोद बस्नेतले एकएक गोल थपे । यता ढाँणथपला युवा क्लबका दुई जना खेलाडीले रातो कार्ड खादै बाहिरिदा टिम सात खेलाडीमा सिमित रहेको थियो । अविशेक बुढ्थापाले दुई पहेलो कार्ड खादै बाहिरिए भने, नवीन बुढ्थापाले सोझै रातो कार्ड पाए । लिग चरणमा नवीन बुढ्थापाले म्यान अफ द म्याच पाएका थिए । 


असोज एक गतेदेखि सुरु भएको एन्फा जिल्ला लिग आज सकिएको हो । यस प्रतियोगिताका उत्कृष्ट खेलाडीको ट्रफी योङ्ग स्टारका रुबेन भण्डारीले पाए । साथै प्रतियोगिताका उच्च गोलकर्ताको उपाधी पनि उनैले जिते । उत्कृष्ट गोलकिपर ढाँणथपलाका गोल रक्षक अमृत रोकायाले जित्दा, उत्कृष्ट डिफेन्डर योङ्ग स्टारका क्याप्टेन केशव हमाल चुनिए । 

उत्कृष्ट कोचको ट्रफी योङ्ग स्टारका युवा कोच मदन बुढ्थापाले पाए । फेयर क्लबको उपाधी पातरासी युवा क्लबले जितेको छ । लिगका विजेता योङ्ग स्टार क्लबले उपाधी सहित प्रदेश लिग तयारीको लागी रु. बीस हजार प्राप्त गर्दा उपविजेता ढाँणथपला युवा क्लबले दस हजार प्राप्त गर्यो । 


यस्तै, खेल सकिए लगतै ढाँणथपलका केही खेलाडीले आजका मुख्य रेफ्री टंक भण्डारीमाथी आक्रमण गर्दा रेफ्री घाइते भएका छन् । जुम्ला जिल्ला फुटबल संघले भने आज साझा संघको बैठक बसेर उक्त खेलाडीहरुलाई कारबाही प्रक्रिया अगाडि बढाउने जनाएको छ । 

यस एन्फा जिल्ला लिगको मिडिया पार्टनर "नासो" रहेको थियो । 

प्रतिक्रिया